काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र वितरण हुने जारको पानीमा दिसाजन्य कोलिफर्म फेला परेको छ । महानगरपालिकाको परीक्षणमा तीन वटा कम्पनीको जारमा कोलिफर्म भेटिएको हो । महानगरले १० वटा कम्पनीका जारको पानी दुई चरणमा परीक्षण गर्दा तीन वटा कम्पनीको उत्पादन अस्वच्छ भएको पुष्टि भएको छ ।
१८ भदौमा गरिएको पछिल्लो परीक्षणमा पाँच कम्पनीका पानी नमूनाहरू काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्रयोगशालामा पठाइएको थियो । यस परीक्षणमा ‘एक्वा पिस’ र ‘एक्वा टोखा’ ब्रान्डका जारमा कोलिफर्म भेटिएको महानगरले जनाएको छ ।
महानगरका अनुगमन निरीक्षक डा. अवधेश झाले भने, ‘पहिलो चरणमा पाँच वटा कम्पनीको पानी परीक्षण गर्दा एउटा कम्पनीमा कोलिफर्म भेटिएको थियो । दोस्रो चरणमा पठाइएका पाँचमध्ये दुई कम्पनीको पानीमा पनि कोलिफर्म फेला परेको छ ।’
रिपोर्टअनुसार, एक्वा पिस कम्पनीको जारमा प्रति सय मिलिलिटर ८० फेकल कोलिफर्म र एक्वा टोखाको जारमा ३० फेकल कोलिफर्म देखिएको छ । स्वास्थ्यका लागि जोखिमपूर्ण हुने यो पदार्थ शून्य हुनुपर्ने भए पनि कम्पनीहरूको लापरबाहीका कारण यस्तो समस्या देखिएको हो ।
यसअघि २५ साउनमा पनि पाँच वटा कम्पनीको पानी परीक्षण गर्दा ‘एक्वा त्रिदेव’ कम्पनीको जारमा कोलिफर्म भेटिएको थियो, जसका कारण कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।
महानगरका खाद्य प्राविधिक अनिल बस्नेतले प्रशोधित पानीमा कोलिफर्म हुनु नहुने बताए । कोलिफर्मको उपस्थिति पानीको स्रोतमा सफाइ नभएको वा पानी प्रशोधन सही ढंगले नगरिएको संकेत हो ।




