काठमाडौं । बाराको निजगढ नजिकैको बकैया नदीमाथि रहेको ३५५.५९ मिटर लामो पुलको अवस्था जीर्ण र साँघुरो छ । पुलको मुखमै ट्राफिक प्रहरीले ‘हेभी गाडी एकतर्फी गराइएको’ सूचना बोर्ड राखेको छ । यसले ठूलो सवारीसाधनलाई पुलमा प्रवेश गरेपछि अर्को सवारीसाधनलाई रोक्नुपर्ने बाध्यता छ । पुल साँघुरो भएकाले एकैपटक दुई वटा हेभी गाडीलाई धान्न सक्ने अवस्था छैन ।
यो पुल झण्डै ५० वर्षअघि निर्माण गरिएको थियो । जीर्ण र भार धान्न नसक्ने अवस्थाका कारण पुललाई एकतर्फी सञ्चालनमा ल्याइएको छ । यस्तै समस्या मधेस प्रदेशका अन्य पुलहरूमा पनि देखिन्छ । पूर्वपश्चिम राजमार्गका धेरैजसो पुलहरू जीर्ण र साँघुरा छन्, जसले सवारी सञ्चालनमा कठिनाइ निम्त्याइरहेका छन् ।
रौतहट र सर्लाहीलाई जोड्ने बागमती नदीको पुल, सर्लाहीको लखन्देही, चापिनी र महोत्तरीको बाँके खोला लगायतका पुलहरू पनि पुराना र जीर्ण छन् । यस्ता पुलहरूमा ठूला सवारीसाधनलाई दोहोरो आवतजावतमा रोक लगाइएको छ ।
पछिल्ला वर्षहरूमा केही पुल भासिएर वा भत्किएर नयाँ निर्माण भइरहेका छन् । महोत्तरी र धनुषालाई जोड्ने रातु र भब्सी खोलाका पुलहरू मर्मत गरिएपछि अहिले केही सहजता आएको छ । तर, अन्य थुप्रै ठाउँमा अझै पनि पुलहरू जीर्ण अवस्थामा छन्, जसले यात्रा असहज बनाइरहेको छ ।
पूर्वपश्चिम राजमार्गलाई नेपालको ‘लाइफ लाइन’ भनिए पनि यो मार्गका अधिकांश पुलहरू ५० वर्षभन्दा पुराना छन् । ती पुलहरूले वर्तमान यातायात चाप धान्न नसक्ने अवस्थामा पुगेका छन् । यिनै जीर्ण पुलहरूको विस्थापनका लागि अझै केही वर्ष पर्खिनुपर्ने बताइन्छ ।




