रौतहट । रौतहटको मौलापुर नगरपालिका ९ का वडा अध्यक्ष श्याम किशोर साहमाथि यौन शोषणको आरोप लगाउँदै स्थानीयहरूले राजीनामाको माग गरेका छन् । सोनरनियाका गाउँलेहरूले एक विवाहित दलित महिलालाई विभिन्न प्रलोभन देखाएर पटक पटक यौन शोषण गरेको आरोप लगाएका छन् ।
शुक्रबार गाउँलेहरूले वडा कार्यालयमा ताला लगाउँदै अध्यक्ष साहविरुद्ध प्रदर्शन गरेका थिए । यसअघि गाउँलेहरूले ब्यानर र प्लेकार्डसहित सोनरनिया गाउँ परिक्रमा गरेका थिए । केही दिनअघि पीडित महिलाले साहमाथि विवाहको आश्वासन दिएर आफूलाई वर्षौंदेखि यौन शोषण गरेको आरोप लगाएकी थिइन् ।
घटना भाइरल भएपछि मौलापुर नगरपालिकाले सत्यतथ्य बुझ्न उपमेयर नागेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले १५ दिनभित्र प्रतिवेदन सार्वजनिक गर्ने बताए पनि हालसम्म प्रतिवेदन नआउँदा स्थानीयहरू असन्तुष्ट बनेका छन् । स्थानीयले दोषी ठहरिएसम्म वडा कार्यालयमा लगाएको ताला नखोल्ने चेतावनी दिएका छन् ।




