एजेन्सी । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा ११८ दिनपछिकै सबैभन्दा थोरै संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार भारतमा अहिले थप ३१ हजार ४४३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा अहिले संक्रमित अवस्थामै रहेका संक्रमितहरुको संख्या ४ लाख ३१ हजार ३१५ रहेको छ । यो संख्या पनि १०९ दिनपछिकै सबैभन्दा कम भएको बताइएको छ ।
अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या कुल संक्रमितहरुको संख्याको १.४० प्रतिशत रहेको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको संख्या भारतमा ३ करोड ६३ हजार ७२० पुगेको छ ।
ती मध्ये पछिल्लो एक दिनमा ४९ हजार ७ जना संक्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरसबाट कुल संक्रमित मध्ये अहिलेसम्म ९७.२८ प्रतिशत संक्रमण मुक्त भएको पाइएको छ ।
महामारी नियन्त्रणका लागि भारतमा गत जनवरी १६ देखि खोप अभियान संचालन भइरहेको छ । अभियान अन्तर्गत अहिलेसम्म ३८.१४ करोड मानिसलाई खोप लगाइएको मन्त्रालयले जनाएको छ ।






