सप्तरी । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ६ स्थित महुलीमा बुधबार एक युवक मृत अवस्थामा फेला परेका छन् । स्थानीय स्रोतका अनुसार, मोहनपुरका २८ वर्षीय इश्वर पोखरेल बिहान मृत अवस्थामा भेटिएका छन् ।
महुली बजारबाट ३०० मिटर पूर्वमा रहेको घुरण चौधरीको धान खेतको आलीमा पोखरेलको शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीय व्यक्तिहरूले पोखरेललाई खेतको आलीमा ढलेको देखेपछि प्रहरीलाई सूचित गरेका थिए ।
घटनास्थलमा पुगेको प्रहरीले पोखरेललाई मृत अवस्थामा फेला पारेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले घटना बारे अनुसन्धान सुरु गरिएको र प्रहरी टोली घटनास्थलमा खटाइएको जानकारी दिए ।




