पश्चिम नवलपरासी । कबड्डी खेलको विकास, खेलस्तर सुधार र खेलाडीहरूको मनोबल उकास्न समाजसेवी तथा युवा नेता संघर्ष जैसवालले निरन्तर सहयोग गर्दै आएका छन् । यसै क्रममा जैसवालले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ५ हरपुर टोलमा खेलाडीहरूलाई पोशाक वितरण गरेका छन् ।
वडा स्तरीय गाउँले कबड्डी प्रतियोगिता २०८१ को अवसरमा शुक्रबार आयोजित कार्यक्रममा जैसवालले स्थानीय खेलाडीहरूलाई पोशाक वितरण गरेका हुन् । समाजसेवी जैसवाल संविधान सभा सदस्य एवम् प्रदेश सभा सदस्य देवकरण जैसवाल (सन्तु) का सुपुत्र हुन् ।

पोशाक वितरणपछि खेलाडीहरूले आफ्नो खुशी व्यक्त गरेका छन् । वडा सदस्य कन्हैया कुमार हरिजनका अनुसार, प्रतियोगितामा सहभागी खेलाडीहरूलाई पोशाक प्रदान गरिएको हो । समाजसेवी जैसवालले विगतमा पनि स्थानीय युवा, विद्यार्थी र फरक क्षमता भएका व्यक्तिहरूलाई सहयोग गर्दै आएका छन् ।
उनले आगामी दिनहरूमा पनि खेलाडीहरूको हितमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतापपुर गाउँपालिका वडा नं. ५ हरपुरमा सञ्चालन भइरहेको गाउँस्तरीय कबड्डी प्रतियोगितामा स्थानीय खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ ।




