वीरगञ्ज । बढ्दो गर्मीका कारण वीरगञ्ज महानगरपालिकाले दुई दिनका लागि महानगरभित्रका विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ । सोमबार जारी गरिएको सूचनामा महानगरका सबै सामुदायिक र निजी विद्यालयहरूमा असोज ८ र ९ गते पठनपाठन रोकी, प्रशासनिक कार्य भने जारी राखिने जानकारी गराइएको छ । महानगरपालिकाले विद्यार्थीलाई घरमै अध्ययन गर्ने वातावरण मिलाउन गृहकार्य दिने व्यवस्था गर्न अनुरोध गर्दै पठनपाठन स्थगित गर्न निर्देशन दिएको हो ।
‘पछिल्ला केही दिनदेखि बढ्दो गर्मीले विद्यार्थीको स्वास्थ्यमा परेको प्रतिकूल असरलाई ध्यानमा राखी असोज ८ र ९ गतेका लागि पठनपाठन स्थगित गरिएको छ । विद्यालयहरूलाई प्रशासनिक कार्य जारी राख्दै, विद्यार्थीलाई गृहकार्य मार्फत घरमा अध्ययन गर्न सहजीकरण गर्न सूचित गरिएको छ,’ सूचनामा भनिएको छ । यसअघि, पर्साको पोखरिया नगरपालिकाको एक विद्यालयमा पनि अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस भएका थिए ।




