रौतहट । रौतहटको पूर्विभेग राजदेवी नगरपालिका स्थित एक जना जितिया ब्रतालुको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । राजदेवी ८ लक्ष्मिपुर गाउँ छेउ पोखरीमा सोमबार दिउँसो नुहाउने क्रममा ब्रतालु महिला स्थानिय प्रमोद साह कानुको ४५ वर्षिया श्रीमती गिरीजा देवी कानुको डुबेर मृत्यु भएको हो ।
ब्रतालु महिला नुहाउने क्रममा डुबेको खबर पाउना साथ सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट गएको संयुक्त टोलीले महिलाको उद्धार गरी तत्कालै प्रादेशिक अस्पताल गौरमा उपचारको लागि पठाएको थियो । तर, डाक्टरले महिलालाई मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर हेक्वा रौतहटका प्रमुख एसपी विक्रम हुमागाईले जानकारी दिए ।
मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् । तराई मधेशमा मनाइने जितिया पर्वको पूर्व संध्या अर्थात एकदिन अघि नहाय खाय मनाउने चलन रहिआएको छ । नहाय अर्थात नुहाउन स्नानको लागि महिलाहरु समूह समूहमा गाउँ नजिकको नदी, पोखरी, जलासयमा जाने गर्दछन् ।
राजदेवीमा आज भएको घटना नुहाउने क्रममा खुट्टा चिप्लीएर पोखरीको गहिरो पानीमा लडेर डुबेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । जितिया पर्व मनाउँदा पितृले मुक्ती पाउने र छोराको आयु लामो हुने जनविश्वास रहिआएको छ । रौतहटमा कतिपय ठाउँमा आजै नहाय खाए मनाइएको छ भने कैयौं ठाउँमा भोली मनाइने बताइएको छ ।




