रौतहट । जितिया पर्वको अवसरमा साथीहरूसँग सोमबार बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको शव १९ घण्टापछि आज बिहान फेला परेको छ ।
माधव नारायण नगरपालिका ८ रजवाडा गाउँ नजिक बागमती नदीमा डुबेर हराएका १८ वर्षीय श्यामलाल सहनीको शव घटनास्थलबाट डेढ किलोमिटर दक्षिणमा गढो भन्ने स्थानमा फेला परेको हो ।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँका अनुसार मृतक राजेन्द्र सहनीका छोराको खोजी संयुक्त टोलीले गरेको थियो । सोमबार बिहान साढे ११ बजे श्यामलाल नदीमा नुहाउने क्रममा डुबेका थिए ।
डुबेको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेक्वा रौतहट, भलोहियाबाट १३ जनाको टोली, इलाका प्रहरी कार्यालय रजवाडा, र स्थानीय बासिन्दाहरूको सहयोगमा खोजी अभियान चलाएको थियो ।
आज बिहान ६ बजे युवकको शव नदीबाट निकालिएको हो । घटनास्थलमा मुचुल्का उठाएपछि मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर, रौतहटमा पठाइएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख छ ।




