सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा डुबेर मंगलबार एक बालिकाको मृत्यु भएको छ । पर्सा गाउँपालिका ५ पर्सा टोलका बब्लु अन्सारीकी २ वर्षकी छोरी आइसा खातुनको मृत्यु भएको हो । आफ्नै घर अगाडिको कुलोमा डुबेर मृत अवस्थामा उनी आज दिउँसो फेला परेकी हुन् ।
दिउँसो साँढे ३ बजेतिर घर अगाडि खेलिरहेकी बालिकालाई नदेखेपछि उनका बुवा आमासहित आफन्तले प्रहरीमा खबर गरेका थिए । प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ४ बजेतिर घरदेखि १ सय ५० मिटर दक्षिणतर्फ कुलोको पानीमा बालिकाको शव फेला पारेको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनास्थलको मुचुल्का उठाउने काम भएको र शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा पठाइएको छ ।




