रौतहट । रौतहट जिल्लामा प्रधानाध्यापकको सरुवाको विषयलाई लिएर तनावपूर्ण घटना घटेको छ । जयकिसान मावि, धरहरिका प्रधानाध्यापक सञ्जय प्रसाद साहको सरुवाको विषयमा विद्यार्थीहरुले आक्रोश व्यक्त गर्दै देवाही गोनाही नगरपालिकाको कार्यालय र मेयर प्रेमलाल साहको घरमा तोडफोड गरेका हुन् ।
मंगलबार अपराह्न, दर्जनौं विद्यार्थीहरुले मेयर साहविरुद्ध नाराबाजी गर्दै नगरपालिकाको अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा विद्यार्थीहरुले नगरपालिकाको झ्यालका सिसा फुटाएका मात्र होइन, नजिकै रहेको एउटा जेसिभिको पनि सिसा फुटाएका छन् ।
ढुंगामुढाका कारण तीन जना प्रहरी घाइते भएका छन्, जसको अहिले गरुडा अस्पतालमा उपचार भइरहेको छ । घटनाको समयमा नगरपालिकामा शिक्षा समितिको बैठक चलिरहेको थियो । विद्यार्थीहरुको आक्रमणपछि बैठक स्थगित गरिएको थियो ।
मेयर प्रेमलाल साहले यो प्रदर्शन पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाएका छन् । उनका अनुसार, वडा अध्यक्ष बीरबहादुर साह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल साह लगायत केही व्यक्तिहरुले व्यक्तिगत स्वार्थका लागि विद्यार्थीहरुलाई उचालेर यो घटनालाई भड्काएको दाबी गरेका छन् ।
प्रदर्शन पछि विद्यार्थीहरु मेयर साहको घरमा पनि पुगेका थिए, जहाँ ढुंगामुढा गरिएको थियो । उनीहरुले नगर अस्पतालमा राखिएको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् । यस घटनाबाट करिब १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको मेयर साहले अनुमान गरेका छन् ।
घटनाको पुष्टि गर्दै रौतहट प्रहरीका प्रवक्ता, डिएसपी एलिजा गिरीले भनेकी छिन् कि प्रहरीहरु स्थिति नियन्त्रणमा लिन क्रियाशील रहेका छन्, र घाइते प्रहरीको अवस्था सुधारोन्मुख छ ।




