काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुद्धशान्ति गाउँपालिका २ नम्बर वडाध्यक्ष डिल्लीप्रसाद ओलीमाथि घुस प्रकरणमा अनुसन्धान सुरु गरेको छ । वडाध्यक्ष ओलीलाई घुस लिँदै गर्दा भारतीय नागरिक अमरनाथ चौहानसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।
इटहरीबाट आएको अख्तियारको टोलीले बिर्तामोडको इलाका प्रहरी कार्यालयमा राति ९ बजेसम्म सर्जमिन मुचुल्का तयार गरी दुवैलाई इटहरी लगेको थियो, र थप अनुसन्धानका लागि बुधबार काठमाडौं लैजाने योजना रहेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।
घटना तब सुरु भयो जब वडाध्यक्ष ओलीलाई विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले बिर्तामोडको हनुमान कम्प्लेक्स अगाडि घुस लिँदै गर्दा मंगलबार दिउँसो १ बजे पक्राउ गरे । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पीडित चौहानले बुद्धशान्ति गाउँपालिकामा व्यवसाय सञ्चालनका लागि स्थानीय चतुर्भुज घिमिरेसँग सहकार्य गरेका थिए । चौहानले घिमिरेलाई १४ लाख ५० हजार भारतीय रुपैयाँ (नेपाली २३ लाख २० हजार) दिएको थियो । घिमिरेले जग्गा खरिद गरे पनि चौहानलाई धोका दिएर जग्गा आफ्नो नाममा नामसारी गराए ।
चौहानले न्यायका लागि बुद्धशान्ति वडा नम्बर २ को कार्यालय पुगेपछि, वडा कार्यालयको मेलमिलाप समितिले दुवै पक्षलाई बोलाएर रकम फिर्ता गर्ने वा जग्गा चौहानको विश्वासिलो व्यक्तिको नाममा नामसारी गरिदिने सर्तमा लिखित सहमति गराएको थियो ।
यो सहमति २०८० साल चैत १ गते अध्यक्ष ओलीकै रोहबरमा भएको थियो । घिमिरेले २ लाख २७ हजार ३ सय खर्च गरेको बताउँदै बाँकी २० लाख ९२ हजार ७ सय चौहानलाई २०८१ भदौ मसान्तभित्र फिर्ता गर्ने वा जग्गा चौहानको व्यक्तिको नाममा नामसारी गरिदिने सहमति भएको थियो ।
तर, पछि वडाध्यक्ष ओलीले चौहानसँग रकम फिर्ता गराइदिन सर्तमा एक लाख भारु मागे । चौहानले ५० हजार मात्र दिन सक्ने बताएपछि ओलीले सहमति जनाए र रकम लिन बिर्तामोड आएका थिए, जहाँ उनी पक्राउ परे ।
वडाध्यक्ष ओली पक्राउपछि निलम्बनमा परेका छन्, र अब बुद्धशान्ति गाउँपालिकाले कार्यवाहकको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा छलफल अघि बढाइसकेको जनाइएको छ ।




