एजेन्सी । श्रीलंकाका ब्याट्सम्यान कमिन्दु मेन्डिसले टेस्ट क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेका छन् । न्यूजिल्याण्डविरुद्धको दोस्रो टेस्ट खेलमा अर्धशतक बनाएर, कमिन्दुले खेलेका सबै आठ टेस्ट खेलमा अर्धशतक प्रहार गर्ने दुर्लभ कीर्तिमान बनाएका हुन् ।
यसअघि कुनै पनि ब्याट्सम्यानले लगातार आठ टेस्ट खेलमा अर्धशतक बनाउने उपलब्धि हासिल गर्न सकेका थिएनन् । पहिलो दिनको खेल समाप्त हुँदा, कमिन्दु ५१ रनमा अविजित रहेका छन् । श्रीलंकाले टस जितेर ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा ३०६ रनको ठोस स्कोर खडा गरेको छ ।
यस्तै अन्य ब्याट्सम्यानहरूमा एन्गेलो म्याथ्युज ७८ रनमा अविजित छन् भने दिनेश चान्डिमलले उत्कृष्ट ११६ रनको शतकिय पारी खेलेका थिए । यस्तो ओपनर दिमुथ करुनार ४६ रन बनाएर आउट भएका थिए । पहिलो टेस्ट जितिसकेको श्रीलंकाले दोस्रो टेस्टमा पनि बलियो शुरुवात गरेको छ, जसले २ खेलको सिरिजमा आफ्नो पकडलाई थप सुदृढ बनाएको छ ।






