एजेन्सी । भारतमा एक सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा सात वर्षीय बालकको हत्या भएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ । घटना उत्तर प्रदेशको प्रसिद्ध ताजमहल नजिकैको हाथरस शहरमा भएको हो, जहाँ पीडित बालक आइतबार राति छात्रावासमा आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेका थिए ।
प्रहरीका अनुसार, विद्यालयका निर्देशक दिनेश बघेलले शवलाई अधिकारीहरूलाई सूचित गर्नुको सट्टा आफ्नो कारको डिक्कीमा लुकाएका थिए । प्रहरी अधिकारी हिमांशु माथुरले बालकको हत्या बघेलका पिताले आयोजना गरेको कालो जादु (तान्त्रिक विधि) समारोह अघि नै भएको बताए । “बालकलाई अनुष्ठानको हिस्साका रूपमा वेदीमा लैजाने योजना थियो, तर अनुष्ठान पूरा नहुँदै हत्या गरियो,” माथुरले थप जानकारी दिए ।
बघेल, उनका पितासहित विद्यालयका अन्य तीन शिक्षकलाई पनि पक्राउ गरिएको छ । बालकको मृत्यु कसरी भयो भन्ने बारेमा माथुरले थप विवरण दिन अस्वीकार गरेका छन्, भने शवको परीक्षण भइरहेको छ भनी स्थानीय मिडियाले रिपोर्ट गरेका छन् ।
भारतको राष्ट्रिय अपराध रेकर्ड ब्युरोका अनुसार, सन् २०१४ देखि २०२१ सम्म मुलुकभर मानव बलिका १०३ घटना दर्ता भएका छन् । यस्तो अनुष्ठानमा गरिने हत्याहरू प्रायः देवताहरूलाई प्रसन्न पार्न गरिन्छ । विशेष गरी आदिवासी र दुर्गम क्षेत्रमा बोक्सी र गुप्त विद्यामा विश्वास अधिक रहेको कारणले मानव बलि प्रचलित छ ।
गत वर्ष पनि पाँच जनालाई सन् २०१९ मा भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा ६४ वर्षीया महिलाको हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो । ती महिलाको हत्या एक मन्दिरमा धार्मिक अनुष्ठानको क्रममा भएको थियो, जसमा उनको टाउको काटिएको थियो ।






