काठमाडौं । ललितपुरमा अविरल वर्षापछि पहिरो खस्दा टाहाखेलमा दुई जनाको ज्यान गएको छ भने गोदावरी नगरपालिका ३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ ।
टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षकी महिला र आठ वर्षकी बालिकाको ज्यान गएको छ, र गोदावरी ३ टौखेलमा बाबु र छोरी ढिस्कोले पुरिएका छन् । त्यहाँ नजिकैको घर पहिरोको उच्च जोखिममा रहेको जानकारी प्राप्त भएको छ ।
त्यसैगरी, महाङ्काल गाउँपालिका ३ मा बाढीले तीन वटा घर र प्रहरी चौकी बगाएको छ । बाढीले वैतर्णीधाम मन्दिरसमेत बगाएको छ, साथै प्रहरी चौकीका सवारी साधन र तीन वटा घर पनि बगेका छन् । पाँच जना व्यक्तिहरूसँग सम्पर्क हुन सकेको छैन, तर प्रहरीहरू भने सुरक्षित स्थानतर्फ सरेका छन् ।
बागमती गाउँपालिका ६ आश्राङमा बाढीले एउटा गोठ बगाउँदा १६ वटा पशुचौपाया बगाएका छन् । हालसम्म कुनै मानवीय क्षति नभएको जानकारी आएको छ ।
त्यस्तै, बागमती गाउँपालिका ३ मा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ । बागमती पुलमा क्षति पुगेको छ, खानीखोला हाइड्रोपावर डुबानमा परेको छ, र वडा कार्यालय समेत जोखिममा परेको छ ।




