वीरगञ्ज । लगातारको अविरल वर्षाका कारण पर्सा जिल्लामा ८३ घरधुरी डुबानमा परेका छन् । यद्यपि, मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा घरधुरीमा डुबानको समस्या देखिएको छ ।
वीरगञ्ज महानगरपालिका ११ स्थित एक बस्तीमा पानी पसेपछि २७ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ । डुबानको प्रभाव जारी रहेकाले प्रभावितहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ ।
प्रहरीका अनुसार वीरगञ्ज महानगर क्षेत्रका ४२ घरधुरी डुबानमा परेका छन् । साथै, वीरगञ्ज महानगरपालिका ३० स्थित ब्रह्माटोलको छेउछाउमा रहेका १० वटा फुसका घर पनि पानीले डुबाएको छ । प्रभावितलाई वडा कार्यालयमा राखिएको छ ।
पानीको प्रवाहले वीरगञ्जदेखि भिष्वा जाने सडक अवरुद्ध भएको छ । पकाहामैनपुर गाउँपालिकामा ३६ घरधुरीमा पनि डुबानको समस्या देखिएको छ । भिष्वादेखि सबैठा जाने सडकमा आवागमन ठप्प छ ।
वीरगञ्ज महानगरका विभिन्न वडामा नालाको पानी ओभरफ्लो भएर बस्तीहरू प्रभावित भएका छन् । ५, ६ र ७ नम्बर वडाका कुमालटोलमा पनि नालाको पानी बस्तीमा पस्न पुगेको छ । वीरगञ्ज महानगरपालिका ३० को एक क्षेत्रमा पानी जमेर बाटो अवरुद्ध भएको छ ।
त्यसैगरी, विन्दवासिनी गाउँपालिकातर्फ जाने तिलावे पुलको २० मिटर परको सडक चर्किएको छ भने पानी ओभरफ्लोले सडकमा क्षति पुगेको छ । श्रीपुर प्रहरी कार्यालयको ५० मिटर लामो पर्खाल पनि वर्षाका कारण भत्किएको छ ।




