काठमाडौं । शनिबार बुटवलबाट काठमाडौंका लागि निस्केको लु १ ज ४५७८ नम्बरको माइक्रो (विंगर) धादिङको झ्याप्लेखोलामा आएको पहिरोमा पुरिएको छ । उक्त घटनामा चालकसहित १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्याङजाको गल्याङ नगरपालिका वडा नं. ३ की सिता भट्टराई र उनका जुम्ल्याहा छोराछोरी, दिपेश र दिपिका भट्टराई पनि छन् । यी दाजुबहिनी बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत थिए ।
उनीहरू नेपाल एस्ट्रोनोमिकल सोसाइटीद्वारा आयोजना गरिएको २०२४ का लागि हुने नेसनल एस्ट्रोनोमी ओलम्पियाडमा भाग लिन बंगलादेश जान तयारी गर्दै थिए । शुक्रबार बिहान बुटवलबाट काठमाडौंका लागि हिँडेको यो माइक्रो झ्याप्लेखोलामा पहिरोमा पुरिएपछि, आमा सिता र उनका जुम्ल्याहा छोराछोरीले सँगै ज्यान गुमाएका छन् ।
नागढुंगा प्रहरी प्रभागका अनुसार, पहिरोमा पुरिएका दिपेश र सिता भट्टराईका शवहरूको पहिचान भइसकेको छ, तर दिपिकाको शवको पहिचान अझै हुन बाँकी छ । शवलाई गएराति ११ बजे शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको प्रहरीले जनाएको छ ।
सिता भट्टराईका पति, होमनाथ भट्टराई, जो बैदेशिक रोजगारीका लागि कोरिया रहेका थिए, उनलाई नेपाल फर्कनको लागि बोलाइएको छ । उनले १५ वर्षका दुवै सन्तानलाई बुटवलमा कालिका माविमा पढाइरहेका थिए ।
प्रहरीले अन्य मृतकको पनि पहिचान गरिसकेको छ, जसमा बुटवलका प्रकाश कुँवर, सिर्जना कुँवर र गुल्मीका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी रहेका छन् ।




