रौतहट । बिहिबारदेखिको अविरल वर्षासँगै रौतहटको पूर्विभेग स्थित बागमती पश्चिममा लालबकैया नदीमा आएको बाढीको सतह घट्दै जाँदा सदरमुकाम गौर बजार क्षेत्रमा पानीको दवाब बढ्दै गएको छ । गौरस्थित प्रायः सम्पूर्ण सरकारी कार्यालयहरु डुबानमा परेपछि आज बन्द हुने भएका छन् ।
बागमती नदी लाल बकैया र झाझ खोलाको पानी आज विहान ३ बजेदेखि प्रवेश गरेसँगै गौर बजार क्षेत्रमा पानीको दवाब बढेको हो । अहिले गौर बजारको मूल बाटोमा चौतर्फी पानी देखिएको छ । गौर भन्सार एरियाको बाटोमा ४ फिटसम्म पानी जमेको छ भने नेपाल विद्युत प्राधिकरण गौर शाखा जलमग्न भएको छ ।
विपी चोकको सडक छेउका घर बाहेकका एरिया बाढीको पानीले डुवानमा परेका छन् । गौर आँखा अस्पताल पुरेनवा, सिसवा, सिर्सिया, सपगढा लगायतका वडाहरुमा राति १२ बजेकै समयदेखि बाढीको पानी पसेको थियो ।
नेपाल विद्युत प्राधिकरण गौरको ३३ र ११ केभी सब स्टेशनको केबल ड्रोनमा पानी भरेको कारण विधुत अवरुद्ध भएको छ । नेपाल भारत सीमा क्षेत्र बैरगनिया जाने नाका क्रान्तिद्वार गेट जलमग्न भएको छ । राजदेवी नगरपालिका ६, गढीमाई ३ लगायत कयौं स्थानमा बागमती नदीको बाँध फुटेर बगेको पानी गौर बजार क्षेत्रमा बढ्दै गएको स्थानीयले बताएका छन् ।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंका अनुसार गौर भन्सार छेउ सशस्त्र प्रहरी प्रस्तावित गुल्म समेत जलमग्न भएको छ । भारतको सीतामढी निवासी ५५ वर्षीय भोजु लहेरी शनिबार साँझ यमुनामाई गाउँपालिका ५ बमनहर सडकखण्ड अन्तर्गत खोला तर्ने क्रममा बाढीमा फसेकोमा १२ घन्टापछि आज बिहान उद्धार गरिएको हो ।
यसअघि शनिबार वृन्दावन १ बलेरी खोर छेउ बागमती नदीमा सयभन्दा बढी महिला पुरुष तथा बालबालिका फसेका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सो मध्ये ३७ जनाको सकुशल उद्धार गरेको थियो ।




