काठमाडौं । हेटौंडा–काठमाडौं छोटो दूरीको वैकल्पिक मार्ग भीमफेदी-कुलेखानी-फाखेल सडक दुई दिनभित्र सञ्चालनमा आउने तयारी भइरहेको छ । असोज ११ र १२ गतेको लगातारको वर्षाले गर्दा भीमफेदी-कुलेखानी-फाखेल र भीमफेदी-कुलेखानी-सिस्नेरी सडकका विभिन्न स्थानमा पहिरो गएको र सडक तथा पुलमा कटान भएका कारण यातायात अवरुद्ध भएको हो ।
हाल प्रदेश सरकार र स्थानीय प्रशासनले युद्धस्तरमा प्रयास गर्दै उक्त सडक पुन: सञ्चालनमा ल्याउन काम गरिरहेका छन् । भीमफेदी–फाखेल खण्डमा पर्ने कुलेखानी ड्याम मुनिको पुलको दुवैतर्फको पहुँच मार्गमा ठूलो क्षति पुगेको छ, जसमा एकातिर करिब १५ मिटर र अर्कोतर्फ १० मिटर कटान भएको छ ।
त्यसैगरी, उक्त क्षेत्रमा करिब १५ मिटर गहिरो खाल्डो बनेको छ । मर्मत कार्यलाई तीव्र बनाउन नेपाली सेना, जनपथ र सशस्त्र प्रहरी बल परिचालित छन् । यातायात पूर्वाधार निर्देशनालयको सहयोगमा उक्त सडक मर्मतका लागि स्रोत साधन प्रयोग भइरहेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिल्वालले बिहीबार बेलुकासम्म भीमफेदी-कुलेखानी-फाखेल-हुमाने खण्डको सडक पुनः सञ्चालनमा आउने बताए । महालक्ष्मी पुल आसपासको क्षतिग्रस्त सडकको मर्मतसमेत बिहीबार बेलुकासम्म सकिने उनको भनाइ छ ।




