सिरहा । सिरहाको लहानमा समोसामा कीरा भेटिएपछि माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले २० हजार रुपैयाँको जरिवाना तिराएको छ । ग्राहकको स्वास्थ्यमा खेलबाड गरेको भन्दै यस्तो कदम उठाइएको हो ।
लहान नगरपालिकाका उपमेयर राम चलितर महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, र राष्ट्रिय उपभोक्ता मञ्चको संयुक्त टोलीले हिजो बजार अनुगमन गरिरहेको थियो ।
अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौं रुपैयाँको म्याद गुज्रिएको पेयपदार्थ फेला पारेको छ । सो कम्पनीलाई म्याद गुज्रिएका पेयपदार्थ तीन दिनभित्र नष्ट गर्न आदेश दिइएको छ ।
त्यसैगरी, ऋषिजल पानी कम्पनीले ‘मिनरल वाटर’को मूल्य बढी राखेर उपभोक्तालाई बेच्दै आएको पाइएको छ, जसको कारण कम्पनीलाई स्पष्टीकरण सोधिएको छ । संविधानले बजार अनुगमन र व्यवस्थापनको जिम्मा पालिकालाई दिएको छ ।




