काठमाडौं । क्यानडामा भइरहेको टी-२० सिरिजमा नेपालले आफ्नो अन्तिम खेलमा ओमानलाई ५६ रनले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गरेको छ । क्यानडाको ओन्टेरियोमा बुधबार राति सम्पन्न खेलमा नेपालले १५८ रनको लक्ष्य प्रस्तुत गरेकोमा ओमानको टोली १७.५ ओभरमा १०१ रनमै समेटियो ।
यस जितसँगै नेपालले ४ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ४ अंक रहेको क्यानडा रनरेटको आधारमा दोस्रो स्थानमा छ भने ओमान २ अंकसहित तेस्रो स्थानमा छ । अब, सिरिजको अन्तिम खेलमा यदि ओमानले क्यानडालाई पराजित गरेमा नेपालको सिरिज जित्ने सम्भावना रहन्छ ।
ओमानका लागि जीसन मक्सुदले ३५ रन र अकिब इल्यासले २२ रनको योगदान दिए । नेपालका कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै १.५ ओभरमा मात्र १० रन खर्चिएर ३ विकेट लिए । सन्दीप लामिछाने, रोहित पौडेल र रिजन ढकालले २/२ विकेट लिए ।
नेपालले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । टस जितेर फिल्डिङ रोजेको ओमानविरुद्ध नेपाली कप्तान रोहितकुमार पौडेलले ४ चौका र ४ छक्काको मद्दतमा नटआउट ५६ रनको योगदान दिए ।
यस्तै अन्य ब्याटरहरूमा अनिलकुमार साह ११ रन, आसिफ शेख १६ रन, देव खनाल १८ रन र कुशल मल्लले १९ रन जोडे । ओमानका फयज बटले चार ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । सिरिजमा नेपालले क्यानडासँगका दुवै खेल गुमाए पनि ओमानलाई दुवै खेलमा पराजित गर्न सफल रह्यो ।




