सर्लाही । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्तिम चरणसम्म आइपुग्दा पनि जिल्लाका सात स्थानीय पालिकाहरूले खाता सञ्चालन गर्न नसक्दा कर्मचारी र सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीहरूले चाडपर्वमा पनि तलबभत्ता पाउन सकेका छैनन् । दसैँ-तिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकिँदा पनि यस्ता समस्याले कर्मचारी र लाभग्राहीहरू निराश छन् ।
चन्द्रनगर गाउँपालिका ६ की ५३ वर्षीया रतियादेवी माझीले सामाजिक सुरक्षाभत्ताको आशामा यो वर्ष दसैँ-तिहार मनाउने योजना बनाएकी थिइन् । तर, पालिकाको खाता सञ्चालन नहुँदा, भत्ता प्राप्त नहुने भएपछि उनको परिवारले चाड मनाउन नसक्ने स्थितिमा पुगेको छ ।
त्यस्तै, गोडैता नगरपालिका १ पिपरियाका महेन्द्र कुशवाहा दमको रोगले ग्रसित छन् र भत्ता नपाउँदा औषधि किन्ने समस्या भएको बताउँछन् । उनी मात्र होइन, पालिकामा कार्यरत सयौँ कर्मचारीले पनि तलब नपाउँदा चाडबाड खल्लो हुने चिन्ता व्यक्त गरेका छन् ।
कविलसी नगरपालिका २ स्थित बालगोविन्द जनता मावि पिपरियाका शिक्षक वीरेन्द्र साहले पालिकाको आन्तरिक विवादका कारण खाता सञ्चालन नहुँदा तलब पाउन नसकेको गुनासो गरे । चाडपर्वमा तलब नपाउँदा घर जानसमेत समस्या भएको उनको भनाइ छ । बसवरिया गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब जयलाल सहनीले पनि तलब नपाउँदा ऋण काढेर चाड मनाउनु परेको बताए ।
यस समस्याले ८ हजार सामाजिक सुरक्षाभत्ता लाभग्राही र करिब ४५० कर्मचारीहरूलाई प्रभावित पारेको छ । सर्लाही जिल्लाका ईश्वरपुर, गोडैता, कविलसी नगरपालिका तथा पर्सा, बिष्णु, बसवरिया र चन्द्रनगर गाउँपालिकाले बजेट पारित गर्न नगर सभामा ढिलाइ गर्दा यस्तो स्थिति सिर्जना भएको हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका निमित्त कोष नियन्त्रक रुपेशकुमार तिवारीका अनुसार, ऐनले निर्दिष्ट गरेका प्रक्रिया पालना नगरिएका कारण यी पालिकाहरूको खाता सञ्चालनमा समस्या उत्पन्न भएको हो । यसैबीच, अन्य आठ नगरपालिका र पाँच गाउँपालिकाले भने परिषद् सम्पन्न गरी नियमित तलबभत्ता वितरण गरिरहेका छन् ।




