रौतहट । यमुनामाई गाउँपालिकाको कार्यालय सरुअठामा आइतबार नेपाली कांग्रेस वडा कार्यालय समिति ४ का पदाधिकारी तथा स्थानीयवासीहरूले तालाबन्दी गरेका छन् । यमुनामाई गाउँपालिका ४ का वडा कार्यालय सार्नका लागि तालाबन्दी गरिएको हो ।
वडाध्यक्ष अश्विनी यादवले आफ्नो घरमा वडा कार्यालय सञ्चालन गरी अनियमित भाडा असुल गरेको र आफ्ना विपक्षीहरूको काममा अडचन लगाउँदै आएको भनी तालाबन्दी गर्नुपरेको नेपाली कांग्रेसका प्रतिनिधि एवम् वडाध्यक्ष सीताराम यादवले बताए ।
उनले सो वडा कार्यालय गापा कार्यालयमा राखिनुपर्ने माग गरेका छन् । वडा कार्यालय सार्ने माग गर्दै उनीहरूले असोज १० गतेदेखि नै रिले अनशन गर्दै आएका थिए । रिले अनशनमार्फत सुनवाइ नगरिएपछि तालाबन्दी गर्नुपरेको वडाध्यक्ष यादवले बताए ।
वडाध्यक्ष सहनीले भने अहिलेको वडा कार्यालय सात वर्षदेखि सञ्चालनमा रहेको र आफूले कसैसँग भेदभाव गरी काम नगरेको बताए । उनले वडा कार्यालय स्थापनाको लागि जग्गा खरीदको प्रक्रियामा रहेको पनि बताए ।




