काठमाडौं । बीपी राजमार्ग फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । शुक्रबार बिहान सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको सुक्खा पहिरोले खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमो र सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसको केहि भाग पुरेको छ ।
साथै, पहिरोमो पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको छ । मानवीय क्षति भने भएको छैन । सुनकोशी र रोशी खोलाले क्षति पुर्याएको बीपी राजमार्ग ठाउँ ठाउँमा डाइभर्ट गरी आज बिहानदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।
तर, केहिबेरमै खसेको सुक्खा पहिरोले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । उक्त पहिरो पन्छाउन केहि समय लाग्ने प्रहरीले जनाएको छ ।




