रौतहट । राष्ट्रिय महिला फुटबल टिममा रौतहटका ८ जना चेलीहरू छनोट भएका छन् । रौतहटका ८ जना छनोट भएको खबरले जिल्लामा हर्ष छाएको छ । टिममा समावेश भएका खेलाडीहरूमा रेनुका नगरकोटे, अनिता केसी, निशा ठोकेर, अन्जना रानामगर, रश्मि कुमारी घिसिङ, समिक्षा घिमिरे, सबिता रानामगर र राष्ट्रिय टिममा पहिलो पटक डेब्यु गर्न सफल सजनी ठोकर रहेकी छन् ।
यी प्रतिभाशाली खेलाडीहरूलाई आगामी साफ महिला च्याम्पियनसिपका लागि चयन गरिएको छ । रौतहटका खेलप्रेमी तथा शुभचिन्तकहरूले खेलाडीहरूलाई हार्दिक बधाई र प्रतियोगिताका लागि शुभकामना दिएका छन् । जिल्लाको नाम विश्वमञ्चमा चिनाउन यी चेलीहरूले ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै साता काठमाडौंमा सुरु हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि नेपाली महिला फुटबल टोलीको घोषणा गरेको हो । महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमबार एन्जिला तुम्बापो सुब्बाको नेतृत्वमा २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन् ।
विशेषता यस पटक प्रशिक्षक तामाङले व्यवसायिक फुटबल खेलिरहेका सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेललाई पनि टोलीमा समावेश गरेका छन् । साफ महिला च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ । नेपालले लगातार तेस्रो पटक यो प्रतियोगिता आयोजना गर्न लागेको हो । यसअघि २०१९ मा विराटनगरमा र दुई वर्षअघि काठमाडौंमा यो च्याम्पियनसिप सम्पन्न भएको थियो ।
दक्षिण एसियाका ७ राष्ट्रहरू- अफगानिस्तान बाहेक सामेल हुने साफ च्याम्पियनसिप सन् २०१० बाट सुरु भएको हो । नेपालले अहिलेसम्म यो प्रतियोगितामा उपाधि जित्न सकेको छैन । अघिल्ला ६ संस्करणमध्ये ५ पटक फाइनल पुगे पनि सबैमा नेपाल उपविजेता भएको थियो । पछिल्लो पटक दुई वर्षअघि काठमाडौंमै भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।
यस पटक नेपालले आफ्नो पहिलो खेल कात्तिक २ गते भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । प्रतियोगिताको उद्घाटन खेल भने कात्तिक १ गते साविक विजेता बंगलादेश र पाकिस्तानबीच हुनेछ । समूह ‘ए’ मा बंगलादेश, पाकिस्तान र भारत छन् भने समूह ‘बी’ मा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंका रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । कुल १२ खेलहरूमा ९ समूह चरणका खेलहरू, २ सेमिफाइनल र १ फाइनल खेलाइनेछ ।
नेपाली महिला फुटबल टोली:
कप्तान: एन्जिला तुम्बापो सुब्बा
अन्य खेलाडीहरू: अन्जना रानामगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिरा कुमारी भुजेल, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी, सजनी थोकर ।






