एजेन्सी । रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर किलीयन एम्बाप्पेमाथि बलात्कारको आरोप लागेको छ भन्ने खबर स्विडिस मिडियाले प्रकाशित गरेका छन् । रिपोर्टका अनुसार, हालै स्विडेन भ्रमणमा रहेका एम्बाप्पेमाथि स्टकहोल्मस्थित एक होटलमा एक युवतीलाई बलात्कार गरेको आरोप लागेको हो ।
स्विडिस अभियोजकले भने एम्बाप्पेको नाम नउल्लेखी बलात्कारको उजुरी परेको जानकारी दिएका छन् र यस घटना बारे अनुसन्धान गर्न प्रहरीलाई जिम्मा दिएको बताएका छन् ।
एम्बाप्पे हाल फ्रान्सको राष्ट्रिय टिममा नरहेकाले अन्तर्राष्ट्रिय ब्रेकको समयमा निजी भ्रमणमा स्विडेन पुगेका थिए । स्विडेनको मिडिया एक्सप्रेससेनले अनुसन्धानको क्रममा प्रहरीले केही कपडा प्रमाणको रूपमा बरामद गरेको उल्लेख गरेको छ, तर औपचारिक रूपमा कुनै आरोप दर्ता गरिएको छैन ।
यसको प्रतिक्रिया स्वरूप, एम्बाप्पेले यो खबरलाई ‘फेक न्यूज’ भन्दै खण्डन गरेका छन् । उनले पेरिस सेन्ट-जर्मेन (पीएसजी) सँगको आफ्नो विवादबारे अदालतमा सुनुवाइ हुने दिनमा यस्तो झूटा समाचार आएको बताउँदै, यो आशा गरेअनुसार नै भएको टिप्पणी गरेका छन् ।
समाचार एजेन्सी एएफपीले पनि एम्बाप्पेविरुद्ध स्विडेनमा कुनै कानुनी उजुरी दर्ता नभएको र एम्बाप्पेले स्विडिस मिडियामा चलेको यो खबरविरुद्ध कानुनी कदम चाल्ने बताएका छन् ।






