काठमाडौं । टी-२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ग्रान्ड प्रेरिमा शुक्रबार भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो ।
नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १४७ रन बनायो । अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० र एन्ड्रिज गौसले ३० रन बनाए ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ तथा गुल्शन झा, रिजन ढकाल र करण केसीले १-१ विकेट लिए । यसअघि, पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो ।
नेपालका लागि रोहित कुमार पौडेलले ४९ र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए । दीपेन्द्र आउट भएलगत्तै करण केसी र आरिफ शेख गोल्डेन डकआउट भए । नेपालका लागि आसिफ शेखले २७, अनिल साहले २७, गुल्शन झाले ११, कुशल भूर्तेलले १० र सोमपाल कामीले २ रन बनाए ।
अमेरिकाका लागि सौरभ नेत्रभालकर, जसदिप सिंह र हर्मित सिंहले २/२ विकेट लिए । नेपाल र अमेरिकाबीच ३ टी-२० खेल हुनेछ । दोस्रो खेल आईतबार र तेस्रो खेल सोमबार हुनेछ ।






