सिरहा । सिरहाको लहान नगरपालिका १५ मा रहेको ‘हात्तीदह सिमसार’ चुरे पहाडको फेदमा अवस्थित एक महत्वपूर्ण पर्यटकीय स्थल हो, जसले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको छ । हालसालै चाडपर्वलाई ध्यानमा राख्दै नयाँ संरचना निर्माण गरिएपछि यो क्षेत्र अझ लोकप्रिय बनेको छ ।
करिब तीन वर्ष अघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसारलाई संरक्षण र व्यवस्थापन गर्दै ‘इको टुरिजम’को प्रवर्द्धन भएपछि यहाँ पुग्ने पर्यटकहरूलाई यस स्थलले मनमोहक वातावरण प्रदान गरेको छ । सिरहा, सप्तरी, धनुषा जस्ता भीडभाड भएका क्षेत्रका बासिन्दाहरूका लागि ‘हात्तीदह सिमसार’ शान्ति र सौन्दर्यको स्थल बनेको छ ।
स्थानीय बासिन्दा मुगालाल चौधरीका अनुसार पछिल्लो समय दैनिक रूपमा यहाँ पर्यटकहरूको संख्या बढिरहेको छ, जसले गर्दा स्थानीयवासी खुसी छन् । चौधरीले यस क्षेत्रको पूर्वाधार र प्रचार प्रसारलाई अझ व्यवस्थित गर्दै पर्यटक आगमन बढाउनु पर्ने बताए । विशेष गरी असार र भदौ महिनामा पर्यटकको चाप कम भएपनि चाडपर्व सुरु भएसँगै यो संख्या उल्लेखनीय रूपमा बढेको छ ।
‘हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र संरक्षण तथा सञ्चालक समिति’का अध्यक्ष रुद्रनारायण चौधरीका अनुसार दसैं, तिहार र छठजस्ता चाडपर्वका बेला पर्यटकहरूको आगमनमा वृद्धि हुन्छ । यस वर्षको चाडपर्वका लागि थप संरचनाहरू निर्माण गरिएको थियो, जसले दसैंमा ठूलो संख्यामा पर्यटकलाई आकर्षित गर्यो । अघिल्लो वर्ष मात्र यहाँ करिब १ लाख २१ हजार आन्तरिक र बाह्य पर्यटकले भ्रमण गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।
यस क्षेत्रलाई पर्यटकीय गन्तव्यमा बदल्न लहान नगरपालिकाको सहयोग, राष्ट्रपति चुरे संरक्षण विकास कार्यक्रम, डिभिजन वन कार्यालय लहान, संसदीय विकास कोष, र वृहत् जलाधार व्यवस्थापन कार्यालय उदयपुरजस्ता विभिन्न निकायहरूको सहकार्यमा योजना सञ्चालन गरिएको हो ।
चुरे पहाडको फेदमा हरियाली जंगल, बीचमा सफा पोखरीमा बोटिङको सुविधा, प्राणी उद्यान, चिसो हावा र शान्त वातावरण यस क्षेत्रका प्रमुख आकर्षणहरू हुन् । साथै, चिल्ड्रेन पार्क र विभिन्न सेल्फी स्पटहरूले पर्यटकहरूको ध्यान खिच्न सफल छन् ।
अध्यक्ष चौधरीले भविष्यमा साहसिक पर्यापर्यटन, सामुदायिक होमस्टे प्रवर्द्धन, घोडा सवारी, पोखरीमाथि सेल्फी पुलको निर्माण र सूचना केन्द्र स्थापना गर्ने योजना रहेको जानकारी दिए । यस क्षेत्रबाट हुने आन्तरिक आम्दानीले स्थानीयवासीको रोजगारीमा पनि सकारात्मक प्रभाव परेको उनले बताए ।




