काठमाडौं । अमेरिकामा जारी घरेलु टोलीविरुद्धको टी-२० आई सिरिजको दोस्रो खेलमा नेपालले रोमाञ्चक जीत हासिल गर्दै तीन खेलको सिरिज एक खेल बाँकी छँदै जितेको छ । आइतबार बिहान भएको खेलमा नेपालले सुपर ओभरमा अमेरिका माथि जित दर्ता गरेको हो । यो जितसँगै नेपालले सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ ।
नेपालले यसअघि मलेसिया, युएई र केन्याविरुद्ध सिरिज जितेको थियो, र यो नेपालको चौथो दुईदेशीय सिरिज जीत हो । सुपर ओभरमा अमेरिकाका आन्द्रेस गौस र सायन जाहान्गिरले ब्याटिङ गरेका थिए भने नेपालका सोमपाल कामीले बलिङ गरे ।
अमेरिकाले सुपर ओभरमा पहिलो दुई बलमा १-१ रन लिए भने तेस्रो बलमा जाहान्गिर र चौथो बलमा आरोन जोन्स आउट भए । नेपालले ३ रनको सामान्य लक्ष्य पायो, जसलाई कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले सजिलै पूरा गरे । पहिलो बलमा पौडेलले १ रन र दोस्रो बलमा कुशलले १ रन लिँदै खेललाई जितको नजिक पुर्याए । अन्तत: चौथो बलमा पौडेलले १ रन लिँदै नेपाललाई ऐतिहासिक जित दिलाए ।
त्यसअघि, नेपालले दिएको १७१ रनको लक्ष्य अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएको थियो । अमेरिकाका आन्द्रेस गौसले ४२ रनको अर्धशतकीय इनिङ खेले । खेलको अन्तिम बलमा ३ रन आवश्यक हुँदा लामो सट खेल्ने प्रयासमा गौस कुशल भुर्तेलबाट बाउन्ड्री नजिकै क्याच भए, जसले खेललाई सुपर ओभरमा पुर्यायो ।
अमेरिकाको इनिङमा आन्द्रेस गौस र साई तेजा मुक्कामल्लाबीच दोस्रो विकेटका लागि १०४ रनको साझेदारी भएको थियो । दीपेन्द्र सिंह ऐरीले ४७ रन बनाएका मुक्कामल्लालाई आउट गर्दै यो साझेदारी तोडेका थिए ।
नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामीले २, सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । यसअघि, नेपालले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा नटआउट रहँदै ९२ रनको शानदार इनिङ खेले । कुशलले आफ्नो नवौं टी-२० अर्धशतक ३३ बलमा पूरा गरेका थिए । नेपाल र अमेरिकाबीचको तेस्रो तथा अन्तिम टी-२० आई खेल सोमबार विहान हुनेछ ।






