सर्लाही । तराई मधेसका अन्न भण्डार मानिने जिल्लाहरूमा शनिबार रातिदेखि परेको बेमौसमी अविरल वर्षाले काट्न तयार भएको धान डुबाएको छ । किसानहरूले धान काटेर सुकाउन खेतमा राखेपनि थन्क्याउन पाएका थिएनन् ।
दशैंपछि धान भित्र्याउन व्यस्त किसानहरू बेमौसमी वर्षाका कारण ठूलो समस्यामा परेका हुन् । निरन्तर परेको वर्षाले खेतमा झुलेर काट्न तयार भएका धानका बोटहरू लडेका छन् भने काटेर थन्क्याउन तयार पारेको धान पानीमा डुबेको छ । यसले किसानहरूलाई धान खेतीको लगानी समेत उठाउन नसक्ने चिन्ता थपेको छ ।
यस वर्ष मल र बीउको असुविधाका बीच नियमित वर्षाले उत्पादन राम्रो हुने आशामा रहेका किसानहरूलाई बेमौसमी वर्षाले धान मासिने डरले सताएको छ । जिल्लाका अधिकांश क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको छ ।
धान पानीमा डुब्दा चामलको गुणस्तर खस्किने र उत्पादनमा कमी आउने किसानहरूको गुनासो छ । नियमित वर्षापछि राम्रो उत्पादनको अपेक्षा गरिएको बेला आकस्मिक पानीले धान बालीमा व्यापक क्षति पुर्याएको छ । खेत र आँगनमा थुपारिएको धान समेत पानीले भिजेर नष्ट भएको किसानहरूले बताएका छन् ।




