काठमाडौं । ठोरी गाउँपालिकाका अधिकांश किसानको पाकेको धान खेतमा डुबेर अलपत्र परेको छ । दुई दिनदेखि रातिको समयमा भएको वर्षाले खेतमा काटेर सुकाइएको धान डुबेर किसानहरूलाई ठूलो समस्या परेको हुन् ।
विशेष गरी ठोरी गापा–१, २, र ३ का किसानहरूले दशैंपछि काटेर खेतमा सुकाउन छोडेको धान पानीमा डुबेको हो । किसानहरूले सुकाएर भित्र्याउने योजना बनाएका धान वर्षाका कारण खेतमै डुबेको छ, जसले उनीहरूलाई आर्थिक क्षति पुर्याएको छ ।
कतिपय किसानले खेतमा बाँकी धान पनि बोटमै बाला झुलेर उम्रने डर व्यक्त गरेका छन् । प्रत्येक वर्ष दशैंपछि र तिहारअघि किसानहरूलाई धान भित्र्याउन हतारो हुन्छ ।
अहिले खेतमै सुकाइएको धान भिजेर किसानहरूलाई तनाव थपिएको छ भने अब भिजेको धानलाई खेतबाट उठाएर सुक्खा जमीनमा राख्ने काममा लागेका छन् । यसरी धान बालामै उम्रने समस्या आउन सक्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन् ।
महँगो बीउ, मल, औषधि तथा श्रम खर्च गरेर राम्रो उत्पादन गर्ने लक्ष्य राखेका किसानहरूको मेहनत वर्षाले बर्बाद भएको छ, जसले कतिपय किसानलाई ऋणको भार थपिएको छ ।




