सिराहा । सिराहा जिल्लाको मिर्चैया नगरपालिका ६ मा निर्माणाधीन नालामा एक युवकको शव फेला परेको छ । घटना स्थल इलाका प्रहरी कार्यालय मिर्चैयादेखि करिब ५० मिटर पूर्व रहेको लोक मार्गको नाला हो ।
मृतकको पहिचान सिराहा जिल्लाको कल्याणपुर नगरपालिका १ अर्नमाका २८ वर्षीय नितेश कामतीको रुपमा भएको छ, यो जानकारी जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी वीरेन्द्रकुमार पासमानले दिएका छन् ।
स्थानीयहरूले बिहान करिब ९/१० बजे युवकलाई उक्त नालाको वरिपरि देखेको र नालामा झोक्राएर बसेको देखिएको बताए । उनी नालामा सुतेपछि लामो समयसम्म नउठेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा उनको मृत्यु भइसकेको थियो ।
शवलाई आवश्यक प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिराहा पठाइएको छ । मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने बताइएको छ । यस घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




