रौतहट । जयकिसान मावि धरहरिका प्रधानाध्यापक सञ्जय प्रसाद साहको सरुवा सम्बन्धी विवादले उग्र रूप लिँदै, देवाही गोनाही नगरपालिकाको कार्यालय र मेयर प्रेमलाल साहको घरमा तोडफोडको घटना भएको छ । यस घटनामा संलग्न रहेका १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ भने मुख्य योजनाकार आमजनता पार्टीका नेता राजेश कुमार साहलाई पनि पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटले लामो अनुसन्धानपछि तोडफोडमा संलग्न व्यक्ति पहिचान गरी मुद्दा दायर गरेको हो । विशेष सूचनाका आधारमा राजेश कुमार साहलाई घरबाट राति पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार साहविरुद्ध पर्याप्त प्रमाणहरू रहेका छन्, र उनका बयानपछि अन्य संलग्नहरूको पहिचान गर्ने प्रक्रिया अघि बढ्नेछ । प्रारम्भिक चरणमा अभद्र व्यवहारको मुद्दा दर्ता गरी, थप प्रमाणका आधारमा गम्भीर मुद्दा चलाइने उनले बताए ।
के थियो घटना ?
असोज ८ गते देवाही गोनाही नगरपालिकामा शिक्षा समितिको बैठक चलिरहेको समयमा जयकिसान माविका प्रधानाध्यापकको सरुवाको विरोधमा दर्जनौँ विद्यार्थी नगरपालिकाको कार्यालयमा पुगे । विद्यार्थीहरूले मेयर प्रेमलाल साहविरुद्ध नाराबाजी गर्दै नगरपालिकाको अगाडि टायर बालेर विरोध प्रदर्शन गरे ।
विरोधको क्रममा विद्यार्थीहरूले नगरपालिकाको झ्यालका सिसा, नजिक रहेको जेसीभी र अस्पताल परिसरमा खडा गरिएको एम्बुलेन्सका सिसा तोडेका थिए । यसै क्रममा सुरक्षामा खटिएका तीन जना प्रहरी घाइते भए । उक्त आक्रमणका कारण बैठक स्थगित गर्नुपरेको थियो भने कसैको सरुवा नभएको सूचना नगरपालिकाले प्रकाशित गर्न बाध्य भयो ।
मेयर प्रेमलाल साहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामनन्दन साह, वडा अध्यक्ष वीरबहादुर साह र आजपा नेता राजेश कुमार साह लगायतले व्यक्तिगत स्वार्थका लागि विद्यार्थीहरूलाई उचालेर विरोध प्रदर्शनलाई उग्र बनाएको आरोप लगाए । यस तोडफोडबाट करिब ७३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको दाबी मेयर साहले गरेका छन् ।




