रौतहट । हालै निलम्बनबाट पुनर्स्थापित भएका कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवालले बाढी पीडितलाई राहत वितरणमा भेदभाव गरेको आरोपमा नगरपालिकामा तालाबन्दी गरिएको छ । दर्जनौं बाढी पीडित तथा जनप्रतिनिधिको टोलीले मेयरको कार्यकक्ष र जिनसी फाँटमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दीपछि बाढी पीडितहरूले कटहरिया बजारमा मेयरविरुद्ध ‘मेयर चोर, कुर्सी छोड’ जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन् । असोजको दोस्रो साता परेको अविरल वर्षा र लालबकैया नदीमा आएको बाढीका कारण कटहरिया नगरपालिकामा सयौं परिवार बाढीबाट प्रभावित भएका थिए ।
कटहरिया ४ का पीडितका अनुसार, मेयरले आफ्ना निकटस्थ तथा नातेदारलाई मात्र राहत वितरण गरेका छन्, जसले अन्य पीडितहरूलाई आन्दोलनमा उत्रिन बाध्य बनाएको छ । आन्दोलनकारीहरूले सम्पूर्ण पीडितलाई राहत उपलब्ध नगराएसम्म तालाबन्दी नखोल्ने अडान लिएका छन् ।




