वीरगंज । वीरगंजस्थित यातायात व्यवस्था कार्यालयको ट्रायल परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले हस्तक्षेप गरेको छ । शनिबार सम्पन्न ट्रायल परीक्षाको नतिजा अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।
शुक्रबारको लिखित परीक्षामा १,२०६ जना परीक्षार्थी उत्तीर्ण भएका थिए, जसका लागि शनिबार ट्रायल परीक्षा सञ्चालन गरियो । ट्रायलमा विधिसम्मत २५३ जना मात्र उत्तीर्ण भएका थिए, र यी उत्तीर्णहरूको सूची अख्तियारको टोलीले साथमा लगेको जानकारी प्राप्त भएको छ ।
ट्रायल अवधिभर अख्तियारको टोली परीक्षा स्थलमै उपस्थित रह्यो । भदौ १४ गतेदेखि प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको निर्देशनमा वीरगंजको कार्यालयमा सवारी चालक अनुमतिपत्र वितरण रोकिएको थियो, तर हाल सात वटा जिल्लामा यो प्रक्रिया पुनः सञ्चालनमा छ ।
गत तीन महिनामा यातायात कार्यालय, पर्साका प्रमुखहरूलाई बारम्बार सरुवा गरिएको छ । अनियमितताको आरोपबीच भर्खरै मात्र नयाँ प्रमुखले कार्यभार सम्हालेका छन्, तर अझै पनि मधेस प्रदेशका कार्यालयहरूमा सवारी चालक अनुमतिपत्र वितरणमा असंगति र भ्रष्टाचारको समस्या समाधान हुन सकेको छैन ।




