काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा नेपालले पेनाल्टी शुटआउटमा पाँच पटकको च्याम्पियन भारतलाई पराजित गर्दै साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पेनाल्टीमा नेपालले भारतलाई ४-२ ले हरायो ।
निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा सकिएको थियो । खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् भने भारतका लागि सङ्गीता बस्फोरेले बराबरी गोल फर्काइन् ।
खेलको ७१ औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्तै एक गोल फर्काए तापनि रेफ्रीले उक्त गोललाई अमान्य ठहर गरेपछि खेल केही बेर रोकिएको थियो । रेफ्री, म्याच कमिस्नर लगायतको छलफलपछि खेल पुन: सुरु भयो ।
यसअघि, खेलको ५० औं मिनेटमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि केही समय खेल स्थगित भएको थियो । अब नेपालले उपाधिका लागि आगामी बुधबार बङ्गलादेशको सामना गर्नेछ ।
आजको पहिलो सेमिफाइनलमा साविक विजेता बङ्गलादेशले भुटानलाई ७(१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्यो ।






