काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालमाथि जित्नैपर्ने दबाब रहिरहँदा सोमबार बिहान पनि हारको क्रम रोकिएन । अमेरिकाको डालासमा आइतबार राति सुरु भएको खेलमा नेपालले अन्ततः ३ विकेटले हार व्यहोर्नुपर्यो ।
नेपालले टस गुमाएर पहिले ब्याटिङ गर्दै २८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो, जसलाई अमेरिका टिमले २ बल बाँकी रहँदै २९१ रन बनाउँदै पूरा गर्यो ।
नेपालका ओपनर अनिल शाह र आशिफ शेखले अर्धशतक बनाएका थिए, भने कप्तान रोहित पौडेलले ९६ रनको उत्कृष्ट इनिङ खेले । ७५ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका कप्तान रोहितको प्रदर्शन प्रभावशाली भए पनि टोलीलाई जिताउन पर्याप्त भएन ।
बलिङमा कुशल भुर्तेलले ६ ओभरमा मात्र २३ रन दिएर ४ विकेट लिए, जसले नेपाललाई बलिङमा केही आशा दिएको थियो । सोमपाल कामीले २ विकेट र ललित राजवंशीले १ विकेट लिए । तर अन्य बलरहरू प्रभावहीन बने ।
सन्दीप लामिछानेले ९ ओभरमा ६३ रन दिएर विकेट लिन सकेनन् भने दीपेन्द्रसिंह ऐरीले पनि ९ ओभरमा ४७ रन खर्चिँदा विकेट हात पारेनन् । करण केशी, गुल्सन झा, रोहित पौडेल र आरिफ शेखले पनि कुनै विकेट लिन सकेनन् ।
नेपालको हारको शृङ्खला लिग २ मा जारी छ । नेपालसहित ८ टिम सहभागी यस प्रतियोगितामा नेपाल तालिकामा सातौँ स्थानमा छ । नौ खेलमा नेपालले ७ खेल गुमाएको छ, जबकि एउटा खेलमा जित र अर्को खेलमा अंक बाँडेको छ ।
अमेरिकासँगको सम्बन्धित इतिहासमा नेपाल र अमेरिकाबीच पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेल भइसकेका थिए, जहाँ दुई दुई जीत दुवै टिमले हासिल गरेका थिए भने एउटा खेल टाइमा टुंगिएको थियो । तर, आइतबारको खेलमा जित निकाल्दै अमेरिका नेपालमाथि तीन जीत निकाल्न सफल भएको छ ।






