सर्लाही । सर्लाही जिल्लाको धनकौल गाउँपालिका २ मन्त्री टोलमा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दिवंगत युवक ३५ वर्षीय जितेन्द्र सिंह रहेका छन् ।
बिहिबार बिहान दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर सिंह गम्भीर घाइते भएका थिए । झट्काबाट सख्त घाइते भएका उनलाई तुरुन्तै स्थानीय प्रादेशिक अस्पताल मलंगवामा प्रारम्भिक उपचारका लागि लगिएको थियो ।
उनलाई थप उपचार आवश्यक परेपछि जनकपुरस्थित काब्या अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको ज्यान गएको प्रहरी स्रोतले जनाएको छ । यस घटनाले दीपावलीको उत्सव मनाउन तयारी गरिरहेका स्थानीयवासीमा शोकको माहोल सिर्जना गरेको छ ।
सिंहको असामयिक निधनले परिवारलाई गहिरो चोट पुर्याएको र उनी प्रति श्रद्धाञ्जली अर्पण गर्न स्थानीयहरू उनको घरमा पुगेका छन् । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।




