एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपीएल) को मेगा अक्सन अघि फ्रेन्चाइजहरूले खेलाडीहरूको रिटेन र रिलिज सूची सार्वजनिक गरेका छन् । फ्रेन्चाइजहरूले आज भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई खेलाडी रिटेन र रिलिजको सूची बुझाएका हुन् ।
सूची अनुसार, दिल्ली क्यापिटल्सले कप्तान ऋषभ पन्तलाई रिलिज गरेको छ भने चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनीसहित रुतुराज गायकवाड, रविन्द्र जडेजा, शिवम दुबे र श्रीलंकाका बलर माथीसा पाथिरानालाई रिटेन गरेको छ । कोलकाता नाइट राइडर्सले पनि कप्तान श्रेयस अय्यरलाई रिलिज गरेर सुनिल नारिन, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, हर्षित राना र वरुण चक्रवर्तीलाई रिटेन गरेको छ ।
लखनउ सुपर जायन्ट्सले पनि कप्तान केएल राहुललाई रिलिज गर्दै निकोलस पुरन, मयंक यादव, रवि बिश्नोई, मोहसिन खान र आयुष बदोनीलाई टोलीमा कायम राखेको छ । सनराइजर्स हैदरावादले हेइनरिक क्लासेन, पाट कमिन्स, अभिषेक शर्मा, ट्राभिस हेड र नितिश कुमार रेड्डीलाई रिटेन गरेको छ ।
गुजरात टाइटन्सले कप्तान शुभमन गिल, राशिद खान, साइ सुदर्शन, राहुल तेवतिया र शाहरुख खानलाई रिटेन गरेको छ भने राजस्थान रोयल्सले सन्जु सामसनसहित यशस्वी जैसवाल, रियान पराग, शिमरन हिटमेयर, ध्रुव जुरेल र सन्दीप शर्मालाई टोलीमा राखेको छ ।
दिल्ली क्यापिटल्सले भने कप्तान ऋषभ पन्तलाई रिलिज गरेको छ र अक्सर पटेल, कुलदीप यादव, ट्रीसटियन स्टबस र अभिषेक पोरेललाई रिटेन गरेको छ । रोयल च्यालेन्जर्स बेंगलोरले विराट कोहली, रजत पाटीदार र यश दयाललाई रिटेन गरेको छ, जहाँ विराट कोहलीलाई पुन: कप्तान बनाउने निर्णय गरिएको छ ।
पञ्जाब किंग्सले भने शशांक सिंह र प्रभसिमरन सिंहलाई मात्रै रिटेन गरेको छ । त्यस्तै, मुम्बई इन्डियन्सले रोहित शर्मा, हार्दिक पाण्ड्या, सूर्यकुमार यादव, जसप्रित बुमराह र तिलक वर्मालाई रिटेन गर्दै टीममा राखेको छ ।
आइपीएलले यो वर्ष रिटेन्सन नियममा केही परिवर्तन गरेको छ । अब फ्रेन्चाइजहरूले मेगा अक्सनअघि अधिकतम ६ खेलाडीलाई रिटेन गर्न सक्नेछन्, जसमा ५ अन्तर्राष्ट्रिय खेलाडी र २ अनक्याप्ड खेलाडी समावेश गर्न सकिनेछ । अन्तर्राष्ट्रिय खेलाडी जुनसुकै देशका हुन सक्नेछन्, तर अनक्याप्ड खेलाडीहरू भने भारतबाट मात्रै हुनुपर्नेछ ।
यसैगरी, टोलीको पर्स सीमा पनि १२० करोड रुपैयाँ पुर्याइएको छ, जसले गर्दा पहिलो खेलाडीलाई रिटेन गर्न १८ करोड, दोस्रो खेलाडीलाई १४ करोड र तेस्रो खेलाडीका लागि ११ करोड खर्च गर्नुपर्नेछ । ३ खेलाडी मात्रै रिटेन गरेमा ४३ करोड रुपैयाँको खर्च हुनेछ ।
फ्रेन्चाइजहरूले अब ५ अन्तर्राष्ट्रिय र १ अनक्याप्ड खेलाडी राखेमा पर्सबाट ७९ करोड रुपैयाँ खर्च हुने छ भने ४ अन्तर्राष्ट्रिय र २ अनक्याप्ड खेलाडी राखेमा ६९ करोड रुपैयाँ खर्च हुने व्यवस्था गरिएको छ । खेलाडीहरूको रिटेन्सन सूची बुझाउने अन्तिम मिति अक्टोबर ३१ साँझ ५ बजेसम्म रहेको थियो ।






