सप्तरी । सप्तरीमा छठ पर्वको लागि पोखरी, तलाउ, खोला, नदी किनारा र नहरहरूलाई आजदेखि सजाउन थालिएको छ । दीपावलीपछि सुरु हुने यस पर्वको तयारीमा स्थानीयहरू बिहानैदेखि जलाशय र पोखरी किनारामा पूजा घाट निर्माण र सफाइमा सक्रिय छन् ।
राजविराज नगरपालिकाका प्रमुख पोखरीहरूमा वर्षौंदेखि थुप्रिएको फोहोर सफाइ गर्दै छठ पर्व मनाउन घाट बनाउने काम भइरहेको छ । सफाइ भएका पोखरीहरूलाई कागज, केराको थाम, असोकको पात र विद्युतीय बत्तीले सजाइँदै छ ।
ग्रामीण क्षेत्रका जलाशय किनारमा पनि पूजाघाटहरू निर्माण गरिँदै छन् । हनुमानगर बजारमा स्थानीय युवाहरू बिहानैदेखि पोखरी सफाइमा लागेका छन्, भने भारदहस्थित कोशी ब्यारेजमा पनि घाट सजाउने काम तीव्र रूपमा भइरहेको छ । यस ठाउँमा भारतका विभिन्न सहरहरूबाट समेत छठ पर्व मनाउन मानिसहरू आउने गर्छन् ।
छठ पर्व सुरु भएसँगै बजार र ग्रामीण क्षेत्रमा भोजपुरी र मैथिलीमा छठी मैयाका गीतहरू गुञ्जिन थालेका छन् । तर, पर्वका लागि आवश्यक सामग्रीको मूल्य अत्यधिक वृद्धि भएपछि उपभोक्ताहरू मारमा परेका छन् ।
प्रसादका रूपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खर, बाँसको नाङ्लो र माटाका भाँडाकुँडाको मूल्य दोब्बरभन्दा बढीले बढेको छ, जसप्रति कुनै निकायले ध्यान नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
छठ पर्वले निर्धनता र निःसन्तानबाट मुक्ति, स्वास्थ्य र दीर्घायुको कामना गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान प्राप्ति र धन लाभ हुने विश्वासका साथ यो पर्वलाई धार्मिक र वैज्ञानिक आधारमा विशेष महत्व दिइन्छ ।




