वीरगंज । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मा जग्गा विवादका कारण दुई पक्षबीच झडप हुँदा १० जना घाइते भएका छन् । धर्मजित मेहता र किशोरी महतोको पक्षबीचको यो झडप जग्गाको विवादको विषयमा भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार, दुवै पक्षका १० जना घाइते भएका छन् । धर्मजित र किशोरी महतोबीच लामो समयदेखि जग्गाको विवाद चलेको छ, जुन मुद्दा अदालतमा पनि परेको थियो ।
किशोरी महतोको पक्षले ७,५१५ वर्गमिटर जग्गा भोग गर्न अनुमति पाए पनि, अधिक जग्गा भोगचलन गर्न खोज्दा झडप भएको जानकारी प्राप्त भएको छ । किशोरी महतो पक्षले जग्गा भोगचलन गर्दा धर्मजित महतो पक्षले नाप नक्शा गरेर मात्र काम गर्नुपर्ने कुरा उठाए, तर किशोरी महतो पक्षले बल प्रयोग गरेर काम गर्न खोज्दा झडप उत्पन्न भएको हो ।
झडपका क्रममा धर्मजित मेहता, सुशीला देवी, रामवती देवी, रमेश कुशवाहा र महन्थ महतो कोइरी लगायत घाइते भएका छन् । किशोरी महतो पक्षका राधेश्याम, अमीर मेहता, अनिल कुशवाहा, उमेश कुशवाहा, र बृजेश कुशवाहा लगायतका व्यक्तिहरूले धर्मजित महतो पक्षका व्यक्तिहरूलाई लाठ्ठीले आक्रमण गरेका थिए ।




