एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मतदान मंगलबार हुँदैछ । ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।
डेमोक्रेटिक पार्टीकी उम्मेदवार ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पबीचको यो चुनावी दौड ऐतिहासिक रूपमा प्रतिस्पर्धात्मक रहने अपेक्षा गरिएको छ, र विभिन्न सर्वेक्षणहरूले यसलाई पुष्टि गरेको छ ।
राष्ट्रपतिमा विजयी हुनका लागि पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलिना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभाडा जस्ता ७ वटा ‘ब्याटलग्राउन्ड स्टेट’ निर्णायक हुनेछन् ।
यी प्रदेशहरूले दुवै उम्मेदवारको चुनावी रणनीतिमा ठूलो स्थान ओगटेका छन् । अमेरिकी राष्ट्रपति बन्नका लागि २ सय ७० इलेक्टोरल मत आवश्यक पर्नेछ । कुल ५ सय ३८ मतमध्ये, यी ब्याटलग्राउन्ड स्टेटमा ९३ मत निहित छन् ।
एनबीसी न्युजको चुनावी सर्वेक्षण अनुसार, ह्यारिसको पक्षमा २ सय २६ इलेक्टोरल मतको सम्भावना रहेको छ, जसका लागि उनलाई कम्तीमा ४४ थप मतको आवश्यकता हुनेछ । जबकि, ट्रम्पले २ सय १९ इलेक्टोरल मत सुनिश्चित गरेका छन् र राष्ट्रपति बन्नका लागि थप ५१ मतको खोजी गर्नुपर्नेै संकेत सर्वेक्षणले गरेको छ ।






