एजेन्सी । भारतले २०२५ को च्याम्पियन्स ट्रफी क्रिकेट खेल्न पाकिस्तान नजाने निर्णय गरेको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई पत्र लेख्दै सुरक्षा कारणले आफ्नो टोली पाकिस्तान जान नसक्ने जानकारी दिएको हो । यो जानकारी ईएसपीएन क्रिकइन्फोले सार्वजनिक गरेको हो ।
खबरमा उल्लेख भए अनुसार, भारत सरकारले बीसीसीआईलाई पाकिस्तान नजान सल्लाह दिएको छ, जसले गर्दा यस्तो निर्णय लिइएको हो । यस निर्णयसँगै, भारतको खेलका लागि पुन: एशिया कपमा अपनाइएको हाइब्रिड मोडेल अपनाउनु पर्ने देखिएको छ ।
सम्भवत: भारतका खेलहरु यूएई वा श्रीलङ्कामा आयोजना हुन सक्नेछ । तर पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीले हाइब्रिड मोडलको प्रस्ताव अस्वीकार गरिसकेका छन् ।
आठ टोलीको सहभागितामा हुने च्याम्पियन्स ट्रफी सन् २०२५ को फेब्रुअरी १९ देखि मार्च ९ सम्म पाकिस्तानका तीन स्थानमा आयोजना गर्ने तालिका छ । यसअघि भारतमा भएको एकदिवसीय विश्वकपमा पाकिस्तानले भाग लिएको भएपनि, गत वर्ष पाकिस्तानमा भएको एशिया कपमा भारतले भने भाग लिएको थिएन । एशिया कपका अधिकांश खेलहरु श्रीलङ्कामा सम्पन्न गरिएका थिए ।
च्याम्पियन्स ट्रफीमा अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इङ्गल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिकाका टोलीले सहभागिता जनाउँदैछन् । भारतले सन् २००८ पछि पाकिस्तान भ्रमण गरेको छैन, जसको मुख्य कारण दुई देशबीचको राजनीतिक तनाव हो ।






