वीरगञ्ज । छठपर्व मनाएर काठमाडौं फर्किने यात्रुसँग वीरगञ्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुलिएको छ, जसले गर्दा यात्रुहरूमा असन्तुष्टि बढेको छ । वीरगञ्जबाट हेटौँडा–काठमाडौं चल्ने टाटा सुमो, इलेक्ट्रिक बस र अन्य लामो रुटका सवारीमा साधारण भाडाभन्दा दोब्बर असुलिएको यात्रुहरूको गुनासो छ ।
यद्यपि, प्रशासनले यस विषयमा कारबाही गर्न सकेको छैन । हाल वीरगञ्जका बस काउन्टरमा टिकट पाउन कठिन भइरहेको छ । एक यात्रुले छठपछि वीरगञ्जबाट काठमाडौं जाँदा अन्य समयमा लिने भाडाभन्दा दोब्बर रकम तिर्नुपरेको बताए ।
सामान्य समयमा रु ८५० मा पाइने टिकटको भाडा हाल एक हजार पाँच सयसम्म पुगेको गुनासो उनले गरे । यात्रुहरूले सामाजिक सञ्जालमा यस बारे गुनासो गर्दै सार्वजनिक यातायात व्यवसायीहरूले महँगो भाडा असुलिरहेको आरोप लगाएका छन् ।
बसपार्कमा यात्रु सहायता कक्ष भए तापनि प्रहरी प्रशासनले यात्रुहरूको समस्यामा राहत दिन नसकेको उनीहरूको भनाइ छ । यसै बीच, जिल्ला ट्राफिक प्रहरी कार्यालयका एक अधिकारीले बढी भाडा बारे गुनासो आएपछि अनुगमन गरिएको तर गुनासो गर्ने पक्ष सम्पर्कमा नआएपछि कारबाही गर्न कठिनाइ भएको बताए ।




