सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका र विभिन्न वडा कार्यालयहरूको तालाबन्दी अन्तत: खोलिएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा नगरप्रमुख वीरेन्द्र माझी, वडाध्यक्षहरू, सुरक्षा निकायका प्रमुखहरू र बाढी पीडित आन्दोलनरत पक्षबीच भएको सहमतिपछि एक महिनापछि ताला खोलिएको हो ।
गत असोज २५ गतेदेखि सुरु भएको तालाबन्दीका कारण नागरिकले झेल्नुपरेको असुविधा प्रति क्षमायाचना गर्दै आगामी दिनमा यस्तो कदम नउठाउने प्रतिबद्धता गरिएको हनुमाननगर कंकालिनी नगरपालिका ५ का अशोककुमार यादवले जानकारी दिए ।
बाढी तथा डुबान पीडितले राहत वितरणमा भेदभाव भएको आरोप लगाउँदै वडा नं. ५, ६, ७, १२, र १३ का कार्यालयमा तालाबन्दी गरेका थिए । यसले गर्दा सम्पूर्ण कामकाज ठप्प भएर जनजीवनमा असर परेको थियो ।
सहमति अनुसार, आजदेखि वडा कार्यालय र नगरपालिकाको सेवा पुन: सञ्चालनमा आउनेछ भने १० दिनभित्र नगरसभा गरी कर्मचारीहरूको तलब भत्ता वितरण गर्ने निर्णय पनि भएको छ ।




