जनकपुरधाम । धनुषा र सिरहाका आधा दर्जन स्थानीय तहहरूले कमला स्नानका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका छन् । धनुषाका गणेशमान चारनाथ, विदेह र सबैला नगरपालिकाले शुक्रबार नगरक्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
यसैगरी, कमला नगरपालिका र जनकनन्दिनी गाउँपालिकाले बिहिबार र शुक्रबार दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेका छन् । यस्तै सिरहामा सिरहा नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ भने नरहा गाउँपालिकाले विद्यालयहरूमा सार्वजनिक बिदा प्रदान गरेको छ ।
कात्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गर्दा भूत प्रेत र कुल देवताहरूको प्रभावबाट छुट्कारा पाइने विश्वास गरिन्छ । सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीमा धामी झाँक्रीहरूले यो दिन भूत र देवताका खेल प्रदर्शन गर्दै स्नान गर्ने परम्परा छ ।
यो मेला ‘धामी झाँक्री मेला’ नामले पनि परिचित छ, जहाँ नवधामीहरू जन्मन्छन् भन्ने विश्वास गरिन्छ । कमला नदीमा स्नान गरेपछि भक्तजनहरूले शुद्ध जल घर लैजाने चलन छ, जसलाई जमिनमा छर्केर पूजा शुद्ध बनाउन प्रयोग गरिन्छ, धामी झाँक्रीहरू बताउँछन् ।




