एजेन्सी । भारतले दक्षिण अफ्रिकाविरुद्धको चार खेलको टी-२० क्रिकेट शृङ्खला आफ्नो नाममा पार्न सफल भएको छ । गएराति सम्पन्न चौथो र अन्तिम खेलमा भारतले १३५ रनको विशाल अन्तरले जीत दर्ता गर्दै शृङ्खला ३–१ ले जितेको हो ।
जोहानसबर्गमा भएको खेलमा भारतले दिएको २८४ रनको ठूलो लक्ष्य पछ्याउने क्रममा घरेलु टोली १८ ओभर २ बलमै १४८ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका तर्फबाट ट्रिस्टन स्टब्सले ४३ रन बनाए भने भारतका अश्रदीप सिंहले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको भारतले केवल एक विकेट गुमाउँदै २८३ रनको विशाल स्कोर खडा गर्यो । तिलक वर्माले १२० रनको नटआउट इनिङ्स खेले भने सञ्जु सामसनले १०९ रनको योगदान दिए । अभिषेक शर्माले पनि ३६ रनको महत्त्वपूर्ण पारी खेले ।
शृङ्खलामा भारतले पहिलो खेल जितेको थियो, दोस्रो खेल भने दक्षिण अफ्रिकाले जित्न सफल भएको थियो । त्यसपछि तेस्रो र चौथो खेलमा भारतले लगातार जित निकाल्दै शृङ्खला आफ्नो पक्षमा पार्यो ।






