पर्सा । पर्साको बहुदरमाई नगरपालिकामा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण कर्मचारी र जनप्रतिनिधिहरूले चार महिनादेखि तलबभत्ता र अन्य सुविधा पाएका छैनन् । नगरपालिकाले चालु आर्थिक वर्षको खाता सञ्चालन गर्न नसक्दा विकास निर्माणदेखि सुत्केरी भत्ता, दीर्घरोगीका लागि सुविधा, विद्यार्थीका छात्रवृत्ति र दैनिक खाजा खर्च समेत सबै रोकिएको छ ।
नियमअनुसार असार महिनाभित्रै नगरसभाबाट आगामी आवको नीति तथा बजेट स्वीकृत गर्नुपर्ने भएपनि नगरपालिकाले ढिलो गरी कात्तिक महिनामा मात्र बजेट पारित गरेको थियो । तर, बजेट स्वीकृत भएपनि प्रमुख प्रशासकीय अधिकृतलाई खर्च गर्ने अधिकार प्रत्यायोजन नगर्दा आर्थिक गतिविधि ठप्प भएको हो ।
बजेट स्वीकृत भएपछि सात दिनभित्र अधिकार प्रत्यायोजन गर्नुपर्ने कानुनी प्रावधान भएपनि नगरपालिकाले यसमा लापरवाही देखाएको छ । विवादका कारण साउनदेखि नै तलब, भत्ता र दशैँ खर्च लगायतका सुविधा रोकिएका छन् । नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षक र स्वास्थ्यकर्मीहरू समस्यामा परेका छन् ।
नगरपालिकामा साउनदेखि कुनै पनि विकास निर्माण कार्य अघि बढेको छैन । आर्थिक गतिविधि ठप्प हुँदा विद्यार्थी, गर्भवती महिला, दीर्घरोगी र अन्य सेवाग्राहीले आवश्यक सेवाहरू पाउन सकेका छैनन् । यस विषयमा सम्बन्धित निकायहरूले समाधानका लागि पहल गरिरहेको भएपनि विवाद अझै समाधान हुन सकेको छैन । नगरपालिकाले अबको केही समयमा अधिकार प्रत्यायोजन गरेर समस्या समाधान गर्ने आश्वासन दिएको छ ।




