बारा । बाराको महागढीमाई नगरपालिका १ बरियारपुरमा भइरहेको गढीमाई मेलामा ड्रोन उडाउन र हतियार प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाराले मंसिर १ गतेदेखि सुरु भएको मेलालाई लक्षित गरी शुक्रबार सूचना जारी गर्दै अनुमति बिना ड्रोन उडाउन नपाइने जनाएको हो ।
जिल्ला प्रशासनले कुनै पनि व्यक्ति वा संस्थाले कार्यालयको अनुमति बिना ड्रोन क्यामेरा उडाएमा ती उपकरण जफत गरी सम्बन्धित व्यक्ति वा संस्थाविरुद्ध कानुनी कारबाही गरिने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार, ड्रोन जनित मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५ अनुसार, प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र ड्रोन उडाउन पाइने प्रावधान छ ।
त्यस्तै, मेलामा पशु बलिका लागि प्रयोग हुने हतियारहरू खुला रुपमा प्रदर्शन गर्न वा बोक्न पनि रोक लगाइएको छ । तरवार, खुँडा, खुकुरी, चक्कुजस्ता हतियार देखाएर जनजीवन आतंकित पार्ने प्रयास गरेमा ती हतियार जफत गरी सम्बन्धित व्यक्तिमाथि कानुन अनुसार कारबाही गरिने प्रजिअ अधिकारीले बताए । विश्वप्रसिद्ध गढीमाई मेला पाँच वर्षमा एक पटक लाग्छ र यस पटक मंसिर १ गतेदेखि सुरु भएको छ ।





