रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा पहिलो पटक ‘चन्द्रपुर मेयर कप टी-२० क्रिकेट प्रतियोगिता’ सुरू भएको छ । यस प्रतियोगिताको उद्देश्य स्थानीय स्तरमा नयाँ खेलाडी उत्पादन गर्दै क्रिकेट खेलको विकास र प्रतिभा उजागर गर्नु हो ।
प्रतियोगिता चन्द्रपुर नगरपालिका र संघर्ष युवा क्लब, चन्द्रपुर ५ को सहकार्यमा आयोजित गरिएको हो । मंसिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा रौतहटका ६ वटा पालिका र भारतका २ टोली गरी कुल ८ टोली सहभागी भएका छन् ।
खेल चन्द्रपुर ८ को बेतौनामा रहेको कोटीहोम क्रिकेट मैदानमा भइरहेको छ । उद्घाटन समारोहमा नगर प्रमुख सञ्जय कुमार काफ्लेले “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” नारालाई आत्मसात् गर्दै शिक्षासँगै खेलकुदलाई प्राथमिकता दिन आवश्यक रहेको बताए ।
उनले रौतहटलाई क्रिकेटको उर्वर भूमि साबित गर्न यस प्रकारका प्रतियोगिता महत्त्वपूर्ण हुने उल्लेख गरे । उद्घाटन खेलमा गौर नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई ४ विकेटले पराजित गर्दै जित दर्ता गर्यो ।
टस जितेर फिल्डिङ रोजेको गौरले १७.२ ओभरमा ८० रनमा चन्द्रपुरको सबै विकेट लियो । ८१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको गौरले १६.१ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
गौरका असाब हुसेनले ४ चौकासहित २३ रन बनाए भने रियाज शेखले १४ बलमा १४ रन जोडे । चन्द्रपुरका गौरव खड्काले ३४ बलमा २२ रन योगदान गरे भने अभिषेक रौनियारले २४ बलमा १२ रन बनाए ।
गौरका बलर आषिक बैठाले उत्कृष्ट प्रदर्शन गर्दै १४ बल खर्चेर ४ विकेट हात पारे । सनी साहले २ विकेट लिए भने इस्तियाक अली, रोहित क्षेत्री, र रियाज शेखले समान १/१ विकेट लिए ।
उत्कृष्ट प्रदर्शनका लागि गौरका आषिक बैठालाई म्यान अफ द म्याच घोषित गरियो । कार्यक्रम संयोजक देवराज कार्कीका अनुसार प्रतियोगिता समग्र क्रिकेट खेलको प्रवर्द्धनका लागि कोशेढुंगा हुनेछ ।






